ताजा खबर

नेपाल आइडलका लागी अदालतले गर्‍यो यस्तो आदेश, अब के होला ?


काठमाडौं । जिल्ला अदालत काठमाडौंले पर्सिसम्म नेपाल आइडलको भोट गणना नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । न्यायधीस दिवाकार भट्टको एकल इजालशले नेपाल आइडल विरुद्ध परेको रिटमा सुनुवाई गर्दै बुधबार यस्तो अल्पकालीन अन्तरिम आदेश दिएका हुन् । 

अदालतले सो मुद्दाको विपक्षी नेपाल आइडल सञ्चालन गर्ने एपी वान टिभीलाई भदौ २३ गते बिहानको १० बजे भोटिङ लगायत कार्यक्रमका सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुन आदेश दिएको हो । नेपाल आइडलमा भोटिङ गणना एक पक्षीयरुपमा गरेर करार उल्लंघन गरेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले गत सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए ।


आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीले आफ्नो प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दिइएको थियो । नेपाल आइडलका अनुसार यो अवधिमा ३७ लाख बढी भोट आएको थियो । तर, त्यो भोटका आधारमा १६ गते कसैलाई पनि आउट गरिएन ।
आयोजकले अर्को साताको कार्यक्रममा आउने भोटमा यसलाई जोडेर एक जना आउट हुने जानकारी गरायो । आयोजकले रुचाएका व्यक्ति बाहिरिने भएपछि एकपक्षीय रुपमा समय बढाएको भन्दै यज्ञमणि न्यौपाने लगायतले सबै प्रतिपर्धीलाई आउट नगरी पुनः भोटिङ आहृवान गर्ने निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरे ।
रिटको प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश दिवाकर भट्टको इजलासले दुबै पक्षलाई छलफलका लागि पर्सि २३ गते बोलाएको छ । साथै त्यसबेलासम्म (१५ गते ८ः४५ देखि भोलिपल्ट १२ बजेसम्म आएको) भेट गणना नगर्न नगराउन अल्पकालिन अन्तरिम आदेश दिएको छ । रियालिटी शो नेपाल आइडलले भने कोही पनि नबाहिरिने पूर्व निर्धारित कार्यक्रम नै भएको दाबी गरेको छ । 

रिट निवेदक न्यौपानेले करार ऐन २०५६ को दफा ८७ को उपदफा १ र २ बमोजिम आइडल विरुद्ध मुद्दा दायर गरेका थिए । २३ गते दुबै पक्षको बहसपछि अदालतले नेपाल आइडलको निरन्तरताको पक्ष वा विपक्षमा फैसला गर्ने छ ।